गण्डकी सहितका तीन वटा प्रदेशमा ३२ अर्बको लगानीमा ‘मोडल गाई फार्म’ स्थापनाको तयारी भएको छ ।
चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश– २ र प्रदेश– ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृति दिइसकेको छ ।
गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न प्रदेश सरकारले पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग भित्र्याउन संघ सरकारबाट अनिवार्य स्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
दूध तथा दुग्धजन्य पदार्थको ‘हब’ बनाएर प्रदेशलाई आत्मनिर्भर बनाउने योजना अनुसार मोडेल फार्म सञ्चालन गर्न लागिएको गण्डकीका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले जनाए । फार्म प्रदेश दुग्ध विकास बोर्डमार्फत सञ्चालन हुनेछ ।
बोर्ड गठनका लागि बनाइएको विधेयक प्रदेशसभाबाट पारित भइसकेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।