प्रदेश– ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । ९ महिनाअघि नियुक्त स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार दिउँसो बर्खास्त गरेका हुन् ।
संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’ अनुसार स्थापितलाई पदबाट हटाइएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी मुख्यमन्त्री पौडेल आफैंले लिएका छन् ।
‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उहाँ (स्थापित) ले सधैं अटेर गर्नुभएपछि बाध्य भएर बर्खास्त गरिएको हो,’ मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने– ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’
प्रदेशमन्त्री बर्खास्तीको यो खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।