newskoseli.Com

सशस्त्र माओवादीमा नेतृत्व परिवर्तन : ‘फौजी लाइन’ अझै हाबी हुने टिप्पणी !

दशकौंदेखि भारतमा सशस्त्र संघर्ष गरिरहेको माओवादी पार्टीमा मूल नेतृत्व परिवर्तन भएको बुझिएको छ । यसअघि ‘कमरेड गणपति’ महासचिव रहँदै आएको सो पार्टीमा अहिले उक्त जिम्मेवारी ‘कमरेड बसवराज’ ले सम्हाल्न थालिसकेको बताइएको छ ।

सन् २०१८ को फेब्रुअरीमा बसेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको बैठकले ६० वर्ष उमेर नाघेका नेताहरूलाई उनीहरुले लिइरहेको जिम्मेवारीबाट स्वैच्छिक किसिमले र पार्टीको आवश्यकताअनुसार अवकाश लिन सर्कुलरमार्फत पार्टीभित्र आह्वान गरेको थियो ।

सर्कुलरमा भनिएको थियो– ‘शारीरिक र मानसिक सीमाहरू भएका कमरेडहरू, जो आफ्नो जिम्मेवारीलाई आ–आफ्नो कमिटीमा ठीक ढङ्गले बहन गर्न सकिरहनुभएको छैन, उहाँहरूलाई उहाँहरूले लिँदै आउनुभएको जिम्म्मेवारीलाई निरन्तरता दिनुको साटो त्यहाँबाट अन्यत्र जिम्मेवारी दिन सकिनेछ । यसमा उहाँहरूलाई उहाँहरूको क्षमताले भ्याउने खालको जिम्मेवारी मात्र दिइनेछ । सम्बद्ध कमिटीहरूले उहाँहरूसित रहेको लामो अनुभवलाई तलका अन्य विविध कमिटीहरू, जनवर्गीय सङ्गठनहरू तथा यस्तै साझा मञ्च र अन्य क्षेत्रहरूमा जिम्मेवारी दिएर उहाँहरूको अनुभवको क्रान्तिमा उपयोग गर्नु आवश्यक छ । हामीले यस किसिमको निर्णय आन्दोलनको हित र सम्बद्ध वृद्ध कमरेडहरूको चाहनामा नै गर्न खोजेका हौं । मानसिक र भौतिक दृष्टिले सीमाबद्ध कमरेडहरूले यो निर्णय कार्यान्यनका लागि अवश्य पनि क्रान्तिकारी स्पिरिट देखाउनुहुनेछ र कमरेडहरूले आफ्ना सीमाहरू आफैंले अनुभूत गरी आफूसम्बद्ध कमिटीबाट स्वैच्छिक किसिमले बिदा भएर आफूले गर्न सक्ने अन्य कामको जिम्मेवारी लिन आफैं तयार हुने कदम चाल्नुहुनेछ । केन्द्र र राज्यका नेतृत्वमा रहेका कमरेडहरूले व्यवहारद्वारा यस किसिमको आदर्शको स्थापना गर्नुहुनेछ । पार्टीका यस्ता कमरेडहरूले जुनसुकै तहको जिम्मेवारी भए पनि वर्गसङ्घर्षको महत्त्वलाई आत्मसात् गरेर आफ्नो चेतनालाई पार्टी र समाजको हितका लागि, कम्युनिस्ट मूल्य र सिद्धान्तलाई अगाडि राखेर समाजमा विद्यमान शोषण–उत्पीडनका विरुद्ध लडिरहनुहुनेछ र समाज रूपान्तरणको अभियानलाई अगाडि बढाउन योगदान दिनुहुनेछ ।’

केन्द्रीय समितिको यो सर्कुलरसँगै भारतीय माओवादी पार्टीका महासचिव ७१ वर्षीय मुप्पाला लक्ष्मण राव अर्थात् ‘कमरेड गणपति’ ले पनि उमेर र स्वास्थ्यका कारण पार्टीको मूल जिम्मेवारी छाड्दै सो जिम्मेवारीमा सैन्य आयोगका प्रमुख नम्बाला केशव राव उर्फ ‘कमरेड बसवराज’ लाई ल्याउने तयारी गरिरहेको समाचार सञ्चार माध्यमहरूमा आएका छन् । त्यसैगरी, ६० वर्ष उमेर कटेका अरु थुप्रै नेताहरूको समेत जिम्मेवारीमा हेरफेर भएको खबर सञ्चार माध्यमहरूले व्यापक रूपले प्रचारित गरेका छन् ।

भारतीय माओवादी पार्टीले भने यसबारेमा आधिकारिक रूपबाट केही पनि प्रतिक्रिया जनाएको छैन । यसै सिलसिलामा अहिले फेरि ‘कमरेड गणपति’ को ठाउँ ६३ वर्षीय ‘कमरेड बसवराज’ ले लिएको भनेर भारतीय सञ्चार माध्यमहरूले विशेष समाचार बनाएका छन् । बसवराज भाकपा (माओवादी) पार्टी निर्माण भएदेखि नै सो पार्टीका केन्द्रीय सदस्य रहँदै आएको र यसअघिसम्म पोलिटब्युरो सदस्य रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

‘कमरेड गणपति’ को टिम नक्सलबाडी आन्दोलनको विरासतसित जोडिएको भारतीय कम्युनिस्ट पार्टी (माले– ‘पिपुल्स वार’) को टिम हो । यो तेलाङ्गना आन्दोलनदेखिको इतिहास बोकेको र विचार तथा अनुभवले खारिएको टिम हो । यो टिमलाई ऐकेडेमिक दृष्टिले पनि निकै समृद्ध मानिन्छ ।

बिहार–बङ्गालमा सक्रिय एमसीसीसित सन् २००४ मा यसको एकता भएपछि निर्माण भएको भाकपा (माओवादी) को महासचिवका रूपमा क्रियाशील रहिआएका हुन् ‘कमरेड गणपति’ । यसको केन्द्रीय समितिमा पोलिटब्युरो तहका र गणपतिपछि नेतृत्वको लाइनमा रहेका चेरिकुरी राजकुमार ‘आजाद’ को सन् २०१० मा र अर्का नेता एवं सो पार्टीका प्रवक्ता मलौजा कोटेश्वर राव ‘किसनजी’ को २०११ म हत्या भएको थियो । अरु वरिष्ठ नेताहरू ‘कमरेड अजिथ’, कोबाध गान्धी, बच्चाप्रसाद सिंह, वाराणसी सुब्रमन्ह्यम, अभिताव बाग्छी, पुलेन्दु मुखर्जी, प्रमोद मिश्रलगायत भारतका विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

गणपति वैचारिक र अध्ययनशील व्यक्ति भएका र वर्तमान महासचिव चाहिँ फौजी रणनीतिका योजनाकार भएको भन्दै बसवराजको हातमा मूल नेतृत्व आएपछि माओवादी पार्टीमा फौजी लाइन अझै हाबी हुन सक्ने टिप्पणी भारतीय पत्रपत्रिकाहरूले गरेका छन् । आन्ध्र प्रदेशमा जन्मिएका बसवराज पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुअघि इन्जिनियर पेशामा थिए । सञ्चार माध्यमहरूमा आएका यी सनसनीपूर्ण खबरहरुबारे भाकपा (माओवादी) ले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

हामीले यो समाचार जनमेलडटकममा प्रकाशित ‘कमरेड गणपतिका ठाउँमा कमरेड बसवराज !’ शीर्षक सामग्रीबाट सम्पादन गरी तयार पारेका हौं– सं.

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर