newskoseli.Com

२२ वर्षे युवकको ज्यान यसरी गुम्यो परदेशमा !

यूएईस्थित ‘पाटी सेन्टर’ भन्ने एक कम्पनीमा काम गर्न १४ महिना अगाडि आइपुगेका झापाको काकरभित्ताका युवक विक्रम तामाङले २२ वर्षे कल्कलाउँदो उमेरमा परदेशमै ज्यान गुमाएका छन् ।

राति सुत्नुभन्दा अगाडिसम्म स्वास्थ्यमा कुनै समस्या नभए तापनि गत आइतबार सुतेकै ठाउँमा उनको अचानक मृत्यु भएको एउटै कोठामा बस्ने उनका साथीहरुले बताएका छन् । ‘विक्रम सदा झैं गत आइतबार पनि हामीसँगै कुरा गरेर सुतेको थियो तर बिहान उठ्दा नसोचेको अवस्थामा पाइयो’– उही कोठामा बस्ने झापाकै साथी सूर्य बुढाथोकीले न्युजकोसेलीलाई बताए ।

उनकै साथीहरुले विक्रमको मृत्युको जानकारी उनको परिवारलार्इ गराएका छन् । ‘हामीले उहाँको परिवारलाई खबर त गर्‍यौं तर अझै पत्याउनु भएको छैन । २२ वर्षकै उमेरमा भएको उनको मृत्यु सबैलाई अपत्यारिलो नै हुन सक्छ तर हाम्रै अगाडि भएको घटनाले हामी अत्यन्तै मर्माहत छौं’– उनको नजिकैका दाइ पर्ने भवानीविक्रम स्याङ्तानले बताए ।

तामाङको आश्चर्यजक मृत्युले आफूहरु अत्यन्तै दुःखी भएको बताउँदै सकेसम्म छिटो उनको शव आफन्तहरुको जिम्मा लगाइदिन साथीहरुले अनुरोध गरेका छन् । उनी काम गर्ने कम्पनी ‘पाटी सेन्टर’ सँग बुझ्दा यूएईस्थित विक्रमको मृत्युको विषयमा नेपाली दूतावासलाइ जानकारी दिइसकिएको बताइयो । तर, मृत्यु भएको ६ दिन बितिसक्दा पनि लास कहिले नेपाल पठाउने भन्ने ठेगान भैसकेको छैन ।

मृतकको शव पोस्टमार्टमका लागि आइतबार नै ‘रसिद हस्पिटल’ लगिएको थियो । पोस्टमार्टमपछि हस्पिटलले दिएको रिपोर्टमा उनको मृत्युलाई ‘प्राकृतिक मृत्यु’ भएको निष्कर्ष निकालिएको छ । प्रहरीले पनि तामाङको मृत्युका सम्बन्धमा अनुसन्धान गरिरहेको बताइएको छ ।

अचानक भएको तामाङको मृत्युकै विषयमा बुझ्न ‘सोधपुछका लागि’ भन्दै तामाङकै कोठामा बस्ने सूर्य बुढाथोकीलाई प्रहरीले बोलाएको थियो । ‘आवश्यक परेमा फेरि बोलाउँछौं’ भन्दै बुढाथोकीलाई सामान्य सोधपुछपछि प्रहरीले छाडिदिएको बुढाथोकीले बताए ।

विक्रम नेपालको कुनचाहिँ म्यानपावरबाट आएका हुन् भन्ने खुल्न सकेको छैन । एउटै कोठामा बसे तापनि फरक–फरक कम्पनीमा काम गर्ने भएकाले उनी कुन म्यानपावरबाट आएका हुन् भन्ने कुराको कुनै जानकारी आफूहरुलाई नभएको कोठमा सँगै बस्ने उनका साथीहरुले बताए ।

‘हामी अतीतका कुरा खासै गर्दैनथ्यौं, बरु निकै बेर भविष्यका कुरा गरेर बिताउँथ्यौं वास्तवमै उसका सपना निकै ठूलठूला थिए,’ उनको गाउँकै दाइ पर्ने भवानीविक्रम स्याङतानले भावुक हुँदै भने– ‘अलिकति पैसा जम्मा गरेर छिट्टै नेपाल गैहाल्ने र नेपालमै केही गर्ने उसको ठूलो योजना थियो तर त्यो सपना पूरा हुन सकेन ।’

विक्रमको ‘आत्माको चीर शान्ति’ का लागि सबै साथीहरू मिलेर दीप–प्रज्वलन समेत गरेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर