दसवर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका– २, सिमलचौर, म्याग्दीकी गुमाकुमारी खड्काले मंगलबार पहिलो पटक प्रचण्ड र रामबहादुर थापा ‘बादल’ लाई भेटिन् ।
नसा रोगबाट पीडित पत्नी सीताको उपचारका सिलसिलामा तातोपानी कुण्डमा स्नान गर्न पुगेका नेकपाका अध्यक्ष प्रचण्डसँगै गृहमन्त्री बादल पनि मंगलबार सिमलचौरस्थित खड्काको घर पुगेका थिए । प्रचण्ड र बादललाई सामुन्ने देखेपछि खड्का केही बेर अवाक भइन् ।
लगत्तै जनयुद्धमा होमिएर परिवारका सदस्य गुमाएको पीडा सम्झँदै उनले भनिन्– ‘जनयुद्धमा होमिएर हामीले परिवारका सदस्य गुमायौं । संघीय गणतन्त्र आयो । अब जनतालाई विकास चाहिएको छ । त्यो जिम्मेवारी पूरा गर्नुहोस् ।’
त्यहाँ जम्मा भएका सहिद परिवारका अन्य सदस्यले पनि जनचाहना पूरा गर्न उनीहरूलाई आग्रह गरेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।