नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ९ महिनापछि सरकारको कार्यप्रगतिबारे समीक्षा गर्न बैठक बस्न लागेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर ५, ६ र ८ गते बैठक बोलाएको छ । तर, सिंहदरबारमा हुने सो बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने–नहुने अझै अनिश्चित छ । प्रधानमन्त्री अोली एक महिनादेखि सरकारी कार्यालय सिंहदरबार गएका छैनन् ।
मुलुकको कार्याकारी प्रमुखको भूमिकामा रहेका उनले देशको शासनसत्ता सरकारी निवास बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । सबै मन्त्रालयको चौमासिक कार्यप्रगति समीक्षा बैठक प्रधानमन्त्रीकै उपस्थितिमा सिंहदरबारमा गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयले बैठक आह्वान गरिसकेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।