newskoseli.Com

यी ‘हाई प्रोफाइल’ ले फिर्ता गरेनन् पुस्तकालयका पुस्तक !

ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक नै भएनन् भने के होला ? देशकै ठूलो पुस्तकालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा ‘प्रतिष्ठित व्यक्ति’ ले समेत पुस्तक फिर्ता नगर्दा समस्या उत्पन्न भएको छ ।

हाल पुस्तकालयले पुस्तक नबुझाउने ‘हाइ प्रोफाइल’ अर्थात् ‘प्रतिष्ठित व्यक्तित्व’ भन्ने विवरण राखेर रुजु–अभिलेख तयार पारेको छ । पुस्तक फिर्ता नगर्नेमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य किशोरकुमार गुरुघराना, हरिहर दाहाल, बिनु लोहनी, योगिशकृष्ण खरेल, लक्ष्मण बस्नेत, कृष्ण मल्ल, नवीन्द्रराज जोशी, कमल थापा, प्रकाशचन्द्र लोहनी, सुरेश आचार्य लगायत छन् ।

केन्द्रीय पुस्तकालयका अनुसार गुरुघरानाले सन् १९७३ अप्रिल ११ मा ‘म्याथम्याटिकल एनालाइसिस फर इकोनोमिक्स’, दाहालले बीसौं शताब्दीका केही आधुनिक कविता, खरेलले ‘हिस्ट्री अफ पोलिटिक्स’, ‘दि युनाइटेड नेसन एन्ड डिसआरमेन्ट’, बस्नेतले नेपाली लिपि विकास, मल्लले ‘हिस्ट्री अफ इन्डिया’ फर्काएका छैनन् ।

त्यसैगरी, जोशीले व्यवस्थापन, थापाले ‘इन्डो नेपाल रिलेसनसिप’, आचार्यले ‘स्टाटिस्टिकल इन्फरेक्स’ र ‘अ कोर्स अफ म्याथम्याटिकल एनालाइसिस’ पुस्तक फर्काएका छैनन् । लोहनीले ‘वाटर लेजिस्लेसन इन एसिया एन्ड दी फार इस्ट’ र ‘डेभलेपमेन्ट इन एसिया एन्ड फार इस्ट’ नामक पुस्तक फिर्ता नगरेको अभिलेख पुस्तकालयमा छ ।

पुस्तकालयको नियमअनुसार विद्यार्थीले पुस्तक लगेको २० दिन र शोधार्थी वा प्राध्यापकले ९० दिनभित्र पुस्तक फिर्ता गर्नुपर्ने व्यवस्था छ । पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार उनीहरूले सन् १९७३ देखि १९९० को बीचमा पुस्तक लगेको अभिलेख छ । अभिलेखअनुसार भरतबहादुर कार्की, तोपबहादुर बस्नेत, शम्भुनारायण पाठक, प्रवीण पाठक, अमरबहादुर डाँगी, मङ्गलराज जोशी, ताराबहादुर कार्की, कृष्णमोहन श्रेष्ठ, मोहनबहादुर बस्नेतलगायतले पनि पुस्तकालयबाट लगेका पुस्तक फिर्ता गरेका छैनन् ।

कार्कीले ‘नेसनल इन्कम एन्ड सोसियल एकाउन्टिङ’, बस्नेतले ‘रिभ्यु अफ इकोनोमिक ग्रोथ’, पाठकले ‘इलिमेन्टस अफ इकोलोजी एन्ड फिल्ड बायोलोजी’, डाँगीले ‘दि प्राक्टिस अफ क्रिटिसिजम’, प्रवीण पाठकले ‘रिडिङ्ग्स इन मार्केटिङ म्यानेजमेन्ट’, बस्नेतले ‘डिप्लोमेसी इन पिस’, ‘सेलेक्ट कन्स्टिच्युसन’ र जोशीले ‘कन्जरभेसन अफ नेचुरल रिसोर्स’ नामक पुस्तक फिर्ता गरेका छैनन् ।

त्यसैगरी, मुकुन्द बरालले ‘माइक्रो एन्ड म्याक्रो इकोनोमिक्स’ र ‘इन्ट्रडक्सन अफ डेमोग्राफी’, रामजी पौडेलले ‘लेबर प्रोब्लम इन इन्डियन इन्डस्ट्री’ र ‘दि इकोनोमिक्स अफ ट्रेड युनियन’ पुस्तक पनि फिर्ता गरेका छैनन् । पुस्तकालय प्रमुख अधिकारीका अनुसार पुस्तक लगेर लामो समय फिर्ता नगरेका कपिल श्रेष्ठले ४० हजार रुपियाँ जरिवाना तिरेर पुस्तकको मूल्य चुक्ता गरे । श्रेष्ठबाहेक अन्यले पुस्तक फिर्ता नगरेको उनको भनाइ छ ।

नियमअनुसार पुस्तक फिर्ता गर्ने म्याद समाप्त भएपछि प्रतिदिन एक रुपैयाँका दरले जरिवाना लिने व्यवस्था छ । सन् २००१ अघि प्रतिदिन १० पैसा रहेको यो शुल्क पछि बढाइएको हो । पुस्तकालय प्रशासनले जरिवाना शुल्क पनि जोड्न सुरु गरेको छ । जरिवाना लाग्नेमा उनीहरूबाहेक राजन पन्त, चन्दा शाह, गणेश राई, कमला पन्त, उदयनाथ पौडेल पनि परेका छन् ।

पन्तले भारतीय दर्शन, राइले ‘कोर्स इन फोनेटिक्स’, शाहले ‘मनी दि प्राइस लेभल एन्ड इन्टरेस्ट’ र पौडेलले ‘डिफरेन्सियल एन्ड इन्ट्रिगल क्याल्कुलस’ पुस्तक फिर्ता नगरेको अभिलेख छ । यसैगरी केदारनाथ प्याकुरेलले ‘कर्पोरेसन फाइनान्स’ पुस्तक फिर्ता गरेका छैनन् ।

केन्द्रीय पुस्तकालयमा ४ लाखको हाराहारीमा पुस्तक छन् । विभिन्न व्यक्तिबाट करिव ७ सय पुस्तक फिर्ता हुन बाँकी छ । परीक्षा तालिका परेका बेला दैनिक १ हजार पाठक पुस्तकालय जाने गरेको खबर सरोज आचार्यको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर