टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन् । एकै छिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन् । बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निराश देखिन्थे ।
‘आमा र बुबा काठमाडौं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा मनीषाले भनिन्– ‘त्रासले घरमा सुत्न सक्तैनौं ।’ दिउँसो उज्यालोमा त उनीहरूलाई समय बिताउन त्यति कठिन हुँदैन तर साँझ अँध्यारो हुन थालेसँगै उनीहरूको मुटुको धड्कन बढ्छ । छिमेकी भाउजू मञ्जु भट्टको घरमा गएर आश्रय लिन्छन् ।
‘दिउँसो उज्यालोमा जसोतसो हामी घरमा बसिहाल्छौं’, उनले भनिन्– ‘अँध्यारो भएपछि घरभित्रै डर लाग्छ । भाउजूको घरमा गएर सुत्ने गरेका छौं ।’ साँझ ६ बजेतिर उनीहरू मञ्जुकहाँ जान्छन् । राति त्यहीं सुत्छन् । आमा नहुँदा उनीहरूले राम्रोसँग खाना पनि खाएका छैनन् । ‘आफैं पकाएर खान्छौं, साँझ ढिलो भए खाना बनाउँदैनौं’– मनीषाले भनिन् ।
‘साँझ यिनीहरूले घरमा पनि खाना बनाउँदैनन्, मैले पकाएर खाऊ भन्दा पनि मन लगाएर खाँदैनन्,’ मञ्जुले भनिन्– ‘साँझ ६ बजेतिर मेरो घरमा आउँछन्, आएनन् भने म आफैं खोज्न जान्छु ।’ तीन बहिनीमध्येका निर्मलालाई मिठो खाना बनाउन आउने भएकाले आमा यताउता हुँदा उनले पकाउने गरेको मनीषाले बताइन् । ‘बहिनीले खाना पकाउँथी, हामीले पकाउनु पर्दैनथ्यो,’ उनले भनिन्– ‘अहिले हामीलाई खाना पकाउन गाह्रो हुने गर्छ ।’
बुबालाई सन्चो हुँदैछछ भनेर आमाले फोन गरेको मनीषाले बताइन् । ‘कहिले घर आउने टुंगो छैन, सन्चो भएपछि मात्र आउँछु भन्नुहुन्थ्यो’– उनले भनेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।