सप्तरीको अग्निसाइर कृष्णसवरण– १, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् । बरू चराउन लैजाने बेला वस्तुभाउको दाम्लो खोलिन्छ तर उमाकान्तको कहिल्यै खोलिँदैन, बाँधिएका बाँधियै छन् ।
उनी मानसिक रोगबाट पीडित छन् । दुःख दिन थालेपछि २०६३ देखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ । उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ । साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ । दुई फिट पनि लामो नभएको साङ्लोले गर्दा उनी चाहेर पनि यताउता हिँड्न त के, उभिन समेत सक्तैनन् ।
जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन । ओढ्न–ओछ्याउन एउटा सिरक छ । जाडोमा काँपेर रात बिताउँछन्, दिनमा सुत्छन् । दिसापिसाब पनि बसेकै ठाउँमा गर्छन् । साङ्लोको डाम गढेर घाउ नै भएको छ ।
उनी हतकडी खोलिदिन बेला–बेला श्रीमतीलाई आग्रह गर्छन् । खोलिदिऊँ झैं लागे पनि अप्रिय घटना हुने डर रहेको उनकी श्रीमती सुशीलाले सुनाइन् । सुशीलाले बिहान–बेलुका भात लगिदिन्छन् । मानवजीवनले भोगिरहेको अकल्पनीय दुःखको यो समाचार बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।