निर्मला पन्तको हत्यारानजिक आफूहरू पुगेको दाबी प्रहरीले गरेको छ ।
भीमदत्तनगर नगरपालिका– १८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ ।
‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने– ‘चाँडोभन्दा चाँडो परिणाम निकाल्न जुटेका छौं ।’
बुधबार कञ्चनपुरमा ७ जनासँग सोधपुछ गरिएको उनले सुनाए । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल स्वयंले नै रावलको बयान लिएका छन् । रावलले निर्मला बलात्कार तथा हत्यामा आफ्नो संलग्नता रहेको संकेत गरेका छन् । उनी लागूऔषध दुर्व्यसनी रहेको बताइएको छ । उनलाई यसअघि सीआईबीका डीएसपी अंगुरबाबा जोशी नेतृत्वको टोलीले कञ्चनपुरमै पक्राउ गरेको थियो । सोधपुछपछि उनी रिहा भएका थिए ।
‘रावलसँग बयान लिने क्रम जारी छ । उनले घटनामा आफ्नो संलग्नताको संकेत गरेका छन्’, प्रहरी उच्च स्रोतले भन्यो– ‘कञ्चनपुरमा बुधबार पक्राउ परेका दुई जनाको पनि बयान लिएपछि थप तथ्य खुल्न सक्छ । तर, उनीविरुद्ध बलियो प्रमाण भने फेला परेको छैन ।
लामो समयदेखि चर्चाको शिखरमा रहेको निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणको पटाक्षेप हुने सम्भावना बढेको यो खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।