भद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गइन् । नेपालबाट त्यहाँ जान प्रतिबन्ध भएकाले उनले भारतको बाटो रोजिन् । यो २०६५ को कुरा हो ।
केचनाकवल– ६, झापाकी ४८ वर्षीया भद्रशिला साउदी उडेको १० वर्षपछि शुक्रबार (मंसिर २१ मा) उनी बाकसमा आइन् । छोराहरुले आमाको शव पाउने आशा समेत मारिसकेका थिए । मृत्युको ६ वर्षपछि बल्ल उनको शव नेपाल ल्याइयो ।
‘मैले त हार मानिसकेको थिएँ, जिउँदो आमालाई त भेट्न पाएनौं–पाएनौं मरेकी आमा पनि देख्न नपाइने भो भन्ठानेको थिएँ,’ छोरा नीरजले भने– ‘जेहोस्, ढिलै भए पनि शव पायौं ।’
मेडिकल रिपोर्टअनुसार भद्रशिलाको मृत्यु २०१३ जनवरी २ मा साउदीको टफालितमा हृदयाघातका कारण भएको थियो । जेद्धास्थित नेपाली महावाणिज्यदूतको कार्यालयबाट झन्डै एक हजार किलोमिटर दुरीमा पर्छ टफलित ।
‘आमासँग नियमित सम्पर्क थिएँ, वर्ष–डेढ वर्षमा एक पटक फोन आउँथ्थ्यो, उता गएदेखि उहाँले जम्मा २८ हजार रुपैयाँ पठाउनुभयो,’ नीरजले भने– ‘हामीले सम्पर्क गर्न खोज्दा फोन लाग्दैनथ्यो, उहाँले फोन गरेपछि मात्रै कुराकानी हुन्थ्यो ।’
गरिब नेपालीले भोगिरहेको एउटा दुःखद् खबरबारेको यो समाचार बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।