
नेकपाको स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारीसहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मात्र दिनुपर्ने प्रस्ताव ल्याएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् ।
पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण उनले आफू निकटहरूसँग गरेका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमलाई उल्लेख नगरी दुई अध्यक्ष मिलेर पार्टी चलाएको विषय मन नपरेर झगडा लगाउन खोजिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
‘दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चार्यमा परेका छन्,’ तत्कालीन एमाले र माओवादीनिकट कानुन व्यवसायीको संगठन एकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने– ‘लगडाइँ–झगडा लगाउन सकिन्छ कि ? कुर्सी अलि–अलि पर सार्न सकिन्छ कि ? त्यो प्रयास भएको छ ।’
प्रधानमन्त्री ओलीले भने– ‘प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छौं, यत्तिको राम्रो उदाहरण संसारमा कहीं देखिएको छैन ।’ ठट्यौली शैलीमा प्रधानमन्त्री ओलीले अगाडि भने– ‘संविधानले दिँदैन र पो, नत्र त प्रधानमन्त्री पनि दु्ई जना नै बनी मिलेर देश पनि चलाउँथ्यौं ।’
वामदेवको प्रस्तावले रन्थनिएका ओलीको प्रतिक्रिया समेटिएको यो खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।