newskoseli.Com

‘जनता आवास’ कि गरिबको उठिवास ?

नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका– ८, मझौलियाकी तारादेवी महराले पुरानो घर भत्काइन् ।

तर, दुई वर्ष भयो– न नयाँ घर बन्यो न त पुरानो घर नै बाँकी रह्यो । ‘बरु फुसकै घर ठीक थियो, सरकारलाई पत्याएर नयाँ घर बनाउन खोजेपछि झन् दुःख पाइयो’– ताराले भनिन् ।

नयाँ बन्ने आशमा भएको घर पनि भत्काएका उनीहरूले गत वर्षको चिसो कटेरोमै बिताए । यस वर्ष पनि तराईमा शीतलहर सुरु भैसकेको छ । यो शीतलहरमा चार छोराछोरीलाई कसरी जोगाउने भन्ने पिरोलो उनलाई हुन थालेको छ । ‘पोहोर साल पनि शीतलहरले दुःख भयो, यो वर्ष पनि उस्तै छ, राम्रो ओढ्ने–ओछ्याउने पनि छैन र भएको घर समेत भत्काएर गल्ती गरियो जस्तो लागेको छ’– उनले गुनासो गरिन् ।

दुई वर्षअघि घर भत्काएपछि उनले जग खनेकी थिइन् । जनता आवास कार्यक्रममार्फत पाएको पहिलो किस्ताको ५० हजार रुपैयाँले जग हालिन् । त्यसयता दोस्रो किस्ताका लागि जिल्ला जनता आवास समन्वय समितिको कार्यालय धाउँदाधाउँदै थाकिसकेकी छन् ।

‘भोलि आउनू, पर्सि आउनू भन्दाभन्दै दुई वर्ष भयो, दोस्रो किस्ता दिएकै छैनन्,’ ताराले भनिन्– ‘दोस्रो किस्ता नपाउँदा जगभन्दा माथि उठाउन सकिएन ।’ जनता आवास कार्यक्रममा सरकारको लपर्बाहीले जनतामा निम्त्याएको समस्या बारेको यो खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर