पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार अझै तयार भएको छैन ।
झन्डै १५ दिन लामो स्थायी समितिको बैठक भर्खरै सकियो । त्यस बैठकमा पार्टीको संगठनात्मक आकार तयार पार्नेभन्दा नेताका कार्यशैली र सरकारको कामकारबाहीबारे बढी बहस र विवाद भयो ।
अहिले नेकपाले केन्द्रदेखि प्रदेश र अधिकांश स्थानीय तहका सरकारको नेतृत्व गरिरहेको छ । पार्टीको संगठन भने तदर्थ शैलीमा चलिरहेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रकै संगठनहरूले नै काम गरिरहेका छन् ।
स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमा पनि तल्लो तहसम्म एकताको ठोस प्रस्ताव आएन । बैठकबाट एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले रिपोर्ट दिएपछि मात्र बल्ल तल्लो तहसम्मको एकीकरणको काम अघि बढ्ने छ ।
‘तल्लो तहको एकतासम्बन्धी मापदण्ड र विधानमा नमिलेका विषयबारे अध्ययन भइरहेको छ,’ कार्यदलका सदस्य वेदुराम भुसालले भने– ‘हामीले चाँडै प्रतिवेदन दिन्छौं, त्यसै आधारमा पार्टीमा छलफलपछि निर्णय हुनेछ ।’ सत्ताधारी पार्टीको संगठनात्मक अन्यौलताको यो खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।