newskoseli.Com

कर्मचारी समायोजन : सफ्टवेयरमा भित्रिए ३२ हजार…

सरकार र कर्मचारीसम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् । समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले बताए ।

शुक्रबारसम्म समायोजन सफ्टवेयरमा ३२ हजार कर्मचारी सम्पर्कमा आइसकेको जानकारी उनले दिए । तीमध्ये १० हजारले समायोजन हुन चाहने तह उल्लेख गर्दै समायोजन फाराम नै भरिसकेको जानकारी प्रवक्ता अधिकारीले दिए । समायोजन फाराम भरेकामध्ये आधाभन्दा बढीले संघमै समायोजन हुने चाहना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

संविधानको धारा ३०२ बमोजिम केन्द्रीकृत शासन व्यवस्थामा नियुक्त भएका कर्मचारीलाई सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया थालेको हो । यसै प्रायोजनका लागि सरकारले ल्याएको समायोजन अध्यादेश संसदका दुइटै सदनबाट स्वीकृत भइसकेको छ ।

सुरुमा समायोजन प्रक्रियाविरुद्ध अधिकांश कर्मचारी आन्दोलित थिए । सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघमा आउने सबै खालका अवसर प्रदान गर्ने गरी संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि समायोजनमा कर्मचारीको उत्साह बढेको हो ।

११ पुसमा २१ दिनको समय दिएर समायोजनमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका कर्मचारीलाई आह्वान गरेको थियो । समायोजन हुन चाहने कर्मचारीले मन्त्रालयको सफ्टवेयरमार्फत समायोजनको फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

समायोजनमा निजामतीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र विभिन्न संगठित संघ–संस्थाका झन्डै २ हजार गरी १ लाख ६ हजार कर्मचारी सहभागी हुनेछन् । सरकारले गत साता मात्रै तिनै तहको नयाँ संगठन संरचना र दरबन्दी स्वीकृत गरिसकेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर