‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको दावी प्रहरीले गरेको छ ।
शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो ।
फरेन्सिक विज्ञसहित काठमाडौंबाट पुगेको सीआईबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ६, बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायी हत्यासम्बन्धी केही प्रमाण फेला परेको हो ।
अनुयायीका अनुसार खाडल उत्खननका क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ । तर, खाडलबाट शवको कुनै अवशेष भने प्रहरीले फेला पार्न नसकेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।