अधिक चिसोका कारण हिमाली जिल्लामा तालतलैया जम्न थालेका छन् ।
मुस्ताङमा तालको पानी जम्ने गरी चिसो बढेको छ । चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ ।
मुस्ताङमा आइतबार रातिदेखि हिमपात सुरु भएको थियो । सोमबार दिउँसो पनि बेला–बेला हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालले बताए । उनका अनुसार दिउँसोको तापक्रम पनि माइनस १ डिग्रीमा झरेको छ । सदरमुकाम जोमसोम आसपासका डाँडा र खोंच हिमपातले सेताम्य भएका छन् ।
‘तालको पानी समेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने– ‘बिहानको चिसो झनै बढी छ । तापक्रम माइनस ७ डिग्रीसम्म ओर्लेको छ ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसपासमा समेत हिमपात भएको चाहिँ यो सिजनकै पहिलो पटक हो ।
‘पहिलो पटकको हिमपातले यहाँका किसान त खुसी भएका छन् तर चिसो बढेर बसाइ असहज बनेको छ,’ उनले भने– ‘पानी जमेपछि दैनिकी अप्ठ्यारो हुन्छ ।’ जाडो मौसममा मुस्ताङको जनजीवनबारेको यो खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।