नेपाली कामदारलाई रोजगारीका लागि जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा नेपाल–जापानबीच छलफल भएको भएको छ ।
जापानको मन्त्रिपरिषदले केही समयअघि आप्रवासी कामदार लैजाने सम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो ।
यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको छ । भेटवार्तामा कामदार लैजाने प्रक्रियाका बारेमा छलफल भएको थियो ।
रोजगारीका लागि जापान जान आकांक्षीले आधारभूत जापानी भाषा जानेको र जापानी भाषा परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने भएको छ ।
जापानी प्राविधिक र नेपाली प्राविधिकको छलफलपश्चात उयपुक्त विधि, प्रक्रिया र संरचना तयार हुनेछ । दुवै देशको पारस्परिक हित अनुकूल हुने गरी संरचना तयार हुने प्रवक्ता रेग्मीले बताएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।