newskoseli.Com

‘माहुरीको आक्रमण’ मा पर्‍यो वाइडबडी विमान ! के–के भयो त्यसपछि… ?

मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर काठमाडौंबाट भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । तर, एकाएक माहुरीको आक्रमणमा पर्‍यो ।

विमानको दायाँ पँखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको ९ नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे ।

‘गाडी चलाइरहेका बेलोडरलाई माहुरीले टोक्यो,’ निगम उच्च स्रोतले भन्यो– ‘त्यसपछि एयरपोर्टको सेफ्टी विभागका कर्मचारीले माहुरी नियन्त्रण लिन जहाज घेराबन्दी गरे ।’ माहुरीको टोकाइबाट जोगिने पोसाकसहित रासायनिक औषधि बोकेर सेफ्टीका कर्मचारी खटिए । अन्य विमानबाट टाढै राखेर माहुरी नियन्त्रण गर्ने योजना बनाइयो ।

रानीले आफ्नो स्थान लिएपछि सबै माहुरी विमानमा एकढिक्का भएर बसे । ग्राउन्ड ह्यान्डिलिङ गर्ने ग्लोबल ग्राउन्ड इन्डियाका कर्मचारीले कार्गो कम्पार्टमेन्टबाट सामान झिक्ने र राख्ने काम सकेर कार्गो ढोका बन्द गरे । जहाजलाई पार्किङ क्षेत्रबाट ट्याक्सी–वेमा पुर्‍याइयो । इन्जिनबाट निस्केको हावाको बेगले माहुरीहरू उड्न थाले ।

माहुरी भागेपछि रिमोट पार्किङमा लैजानुपर्ने झन्झट टर्‍यो । ‘यदि माहुरीको गोला पँखेटाबाट नउडेको भए जहाज समयमै उड्ने थिएन, समस्या आइपर्ने थियो,’ स्रोतले भन्यो– ‘तर पनि माहुरीकै कारण विमान ४० मिनेट ढिलो भयो ।’ उक्त विमानको कमान्डर पाइलट एमएम डंगोल थिए ।

निगमका अर्का पाइलटका अनुसार बैंङलोरमा जहाजमा माहुरी झुम्मिएको यो तेस्रो घटना हो । ‘यसअघि अन्य कम्पनीका विमानलाई माहुरीले असर पुर्‍याएको थियो,’ ती पाइलटले भने– ‘हाम्रो विमानका लागि भने यो नै पहिलो घटना हो ।’

यदि कामदारले असावधनीवश औषधि छर्केको भए त्यहाँ रहेका अन्य विमानका यात्रुलाई माहुरीले आक्रमण गर्ने सम्भावना थियो । तर, संयोगवश त्यस्तो हुन नपाएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर