newskoseli.Com

रामेछापमा डायलासिस सेवा सुरू

एक वर्षदेखि काठमाडौंमा बसेर मिर्गौलाको नियमित डायलासिस गराइरहेका रामेछापको खाँडादेवी गाउँपालिका– ६, माकादुमका ३० वर्षीय मविन्द्र तामाङले बुधबारदेखि यो सेवा जिल्लामै पाएका छन् ।

सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलो पटक डायलासिस सेवा सुरु गरेको हो । उपचारका लागि काठमाडौं बस्नुपर्ने झन्झटबाट आजित मिर्गौला रोगी तामाङ जिल्लामै डायलासिस गराउन पाएपछि दंग छन् ।

जिल्लामै यो सेवा लिने पहिलो व्यक्ति पनि तामाङ नै बनेका छन् । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र (काठमाडौं) को संयोजन तथा चुजी फाउन्डेसन (मलेसिया) को सहयोगमा रामेछापमै पहिलो पटक डायलासिस सेवा सञ्चालन भएको हो ।

‘काठमाडौंमा उतै बसेर उपचार गराउनुपर्ने हुन्थ्यो,’ जिल्लामै डायलासिस सेवा पाएपछि हर्षित हुँदै तामाङले भने– ‘अब त बिहान गएर उपचार गराई बेलुका घरमै फर्कन पाइने अवस्था बन्यो ।’ उनका अनुसार उपचारभन्दा पनि काठमाडौं बसाइ खर्चिलो थियो ।

अब जिल्लामै उपचार गराउन पाइने भएपछि खर्च समेत धेरै घट्ने उनले बताए । अबदेखि जिल्लाका अन्य मिर्गौला रोगीले पनि आफूले जस्तो डायलासिसका लागि ठूलो खर्च गरेर राजधानी धाउनुपर्ने बाध्यता हटेको उनी बताउँछन् ।

तामाकोशी सहकारी अस्पतालले अहिले पाँच वटा डायलासिस मेसिन राखेर सेवा दिन थालेको छ । एक दिनमा १५ जनासम्मको डायलासिस गर्न सकिने अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

यो सेवाले रामेछापसहित आसपासका दोलखा, ओखलढुंगा, सिन्धुलीलगायत जिल्लाका मिर्गौला रोगीहरू पनि लाभान्वित हुने भएको खबर केही दिन अघिको नागरिक दैनिकले प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर