newskoseli.Com

१ महिनामा २१२ लाई राजधानीमै स्वाइन फ्लु, १ को मृत्यु

राजधानी काठमाडौंमा एक महिनामा २ सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट अनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच १ एन १ पीडीएम ०९’ का २ सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् ।

ओम अस्पतालको आर्इसीयूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई ‘एयरलिफ्ट’ गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए ।

बिरामी हेर्नै डराउँछन् स्वास्थ्यकर्मी !

स्वाइन फ्लुबाट बच्ने सही प्रबन्ध नहुँदा स्वास्थ्यकर्मीहरू नै बिरामीको उपचार गर्न डराउन थालेका छन् । त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा स्वास्थ्यकर्मीलाई स्वाइन फ्लु विरुद्धको भ्याक्सिन (भ्याक्सिन ग्रिप) लगाइएको छैन जबकि १० भन्दा बढी ‘इनफ्लुएन्जा एच १ एन १ पीडीएम ०९’ का बिरामी भर्ना भएका छन् ।

‘एक बिरामी निकै सिरियस थिए, उनको रेखदेख बढी समय नर्सहरूले नै गर्नुपर्ने थियो,’ अस्पतालकी एक नर्सले भनिन्– ‘स्वास्थ्यकर्मीको दबाबपछि उनलाई टेकु अस्पताल रेफर गरिएको छ ।’

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा आर्इसीयू र इमर्जेन्सीमा काम गर्ने स्वास्थ्यकर्मीलाई भ्याक्सिन ग्रिप दिइए पनि स्वाइन फ्लुको संक्रमणबाट बच्न त्यो पर्याप्त नभएको चिकित्सकले बताएका छन् । ‘हामीले मन्त्रालयलाई स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा सचेत गराएका छौं । स्वास्थ्यकर्मीलाई काम गर भन्ने तर रोकथामको उपाय नगर्ने परिपाटीले सेवा प्रवाहमा समस्या देखिन थालेको छ’– अस्पतालका निर्देशक बासुदेव पाण्डेले भने ।

यो देशको एक मात्र सरकारी सरुवा रोग अस्पताल हो । स्वाइन फ्लुबाट भैपरि आउने समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र भ्याक्सिन भने तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

ओम अस्पतालका धेरै बिरामीको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । अस्पतालले उपचारमा आबद्ध सबै स्वास्थ्यकर्मीलाई इन्फ्लुएन्जाविरुद्धको भ्याक्सिन लगाएको छ । तर, स्वास्थ्यकर्मी त्रसित छन् ।

कस्ता–कस्ता व्यक्ति बढी जोखिममा ?

चिकित्सकहरूका अनुसार दमलगायत श्वासप्रस्वासम्बन्धी समस्या भएकालाई स्वाइन फ्लु (मौसमी रुघाखोकी) को संक्रमण बढी हुन्छ । मधुमेह, मुटु, कलेजो र स्नायु रोग भएका व्यक्ति पनि संक्रमणको उच्च जोखिममा पर्छन् । गर्भवती, वृद्धवृद्धा र ५ वर्षमुनिका बालबालिकामा स्वाइन फ्लुको संक्रमण छिटो हुने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

यो संक्रमणको खतरा अरूमा भन्दा बढी हुने गरेको छ । त्यसैगरी, अंग प्रत्यारोपण गराएका, एचआर्इभी–एड्स वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएका, क्यान्सरको उपचार गराइरहेकाहरू स्वाइन फ्लुको उच्च जोखिममा हुन्छन् । बिरामीमा १ सय ४ डिग्री वा त्योभन्दा बढी ज्वरो आउने, सास फेर्न गाह्रो हुने लक्षण देखिने सचेतनामूलक खबर बिहीबारका पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर