प्रहरीका विवादास्पद ‘इन्काउन्टर’ लाई राष्ट्रिय मानवअधिकार आयोगले समेत ‘साथ’ दिँदै गएको छ ।
प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा चासो नदिई मौन बसेर आयोगले ‘सदर’ गर्न थालेको हो । इन्काउन्टरका घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ ।
‘इन्काउन्टर’ का नाममा प्रहरीले कतिपय अवस्थामा अभियुक्तलाई पक्राउ गरेर समेत गोली हानेको छ । त्यस सम्बन्धी प्रस्ट प्रमाण भेटिँदा समेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले ‘मुठभेड’ का नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो ।
बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको २१ साउनमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । अभियुक्तसँगै प्रमाण नष्ट गरेको भन्दै त्यस घटनामा प्रहरीको व्यापक आलोचना भयो ।
अभियुक्तलाई पक्राउ गरेको छिमेकीले नै देखेका थिए तर प्रहरीले भने उनीहरूले जंगलमा प्रहरीमाथि गोली चलाउन खोजेको बतायो । मुठभेडको कुनै संकेत नभएको आयोगको प्रारम्भिक छानबिनमा खुलेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।