चिकित्सा शिक्षा सुधारका ‘अभियन्ता’ ले संसदबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई ‘माफियामुखी ऐन’ को संज्ञा दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा ‘माफियामुखी व्यवस्था’ रहेको अभियन्ताको आरोप छ ।
ऐनमा डा. गोविन्द केसीसँग गरिएका सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्रावधान राखिएको उनीहरुको दाबी छ । विधेयकले विवादित व्यक्ति दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन विधायिकाको दुरुपयोग गरेको दावी अधिवक्ता ओमप्रकाश अर्यालले पारे ।
‘कुनै मेडिकल कलेजको स्वार्थलाई हेरेर कानुन बनाउनु जनमतको दुरुपयोग हो,’ उनले भने– ‘यो बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने सुनिश्चित गरेको छ ।’ चिकित्सा शिक्षा विधेयकमाथिको टिप्पणीबारेका यो खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।