मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत रही ड्तालमा उत्रेका झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् ।
तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए । क्वालालम्पुरस्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको रोहबरमा कम्पनीले फागुन १६ (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम तलब र ओभरटाइम वापतको सबै पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले नोभेम्बरसम्मको तलब सोमबार नै श्रमिकको खातामा हालिदिएको छ । डिसेम्बरको तलब फेब्रुअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्कन अनुरोध गरेको थियो । ‘दूतावासले नै तलब पाउने ग्यारेन्टी गरेको छ, हामीलाई काममा फर्कन अनुरोध गरेपछि हडताल तोडेका हौं’– खोटाङका ललित घलानले भनेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।