देशभर दोस्रो जनआन्दोलन चर्किरहेको थियो । २६ चैत, ०६२ मा बनेपा– ४, काभ्रेका भीमसेन दाहाल पोखरामा सुरक्षाकर्मीको गोलीबाट मारिए ।
दाहालको मृत्युपछि काभ्रे झन् बढी आन्दोलित बन्यो । काभ्रेवासीले आन्दोलन सुरु गरे । २७ चैतमा बनेपामा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश कायस्थ घाइते भए ।
सोही दिनदेखि ओछ्यानमा परेका उनी अहिलेसम्म उठ्न सकेका छैनन् । गोली लाग्दा १४ वर्षका मुकेश अहिले २७ वर्षका भए । तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रस्ट देखिन्छ । गोली लागेर घाइते भएपछिको केही समय अस्पतालमा बिताएका उनी अहिले प्रायः घरमै रहन्छन् ।
साह्रोगाह्रो भएको अवस्थामा मात्र उनलाई अस्पताल लाने गरिएको छ । मुकेशलाई जनताले ‘जिउँदा सहिद’ विशेषण दिएका छन् । तर, उनको पारिवारिक अवस्था भने निकै दयनीय रहेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।