श्रीमती हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका– ५, लापिलाङका २४ वर्षीय च्याङ्बा शेर्पाले मंगलबार राति कारागारभित्रै झुन्डिएर आत्महत्या गरेको जानकारी प्रहरी नायब उपरीक्षक बासुदेव पाठककले दिएका छन् ।
शेर्पाकी श्रीमती सर्किनी शेर्पा पुस १६ मा आफ्नै कोठामा पासो लगाई मृत अवस्थामा फेला परेकी थिइन् । उक्त अभियोगमा पुस २० मा पक्राउ परेका शेर्पालाई २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि मंगलबार अदालत पेस गरिएको थियो ।
प्रहरीका अनुसार अदालतको आदेशपछि कारागार चलान गरिएका शेर्पा मध्यराति शौचालय गएका थिए । लामो समयसम्म नआएपछि खोजतलास गर्दा उनी झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।