छोरा पारसको स्वास्थ्यस्थितिबारे जानकारी लिन काठमाडौं आएकी पूर्वरानी कोमल शाह सिमरा फर्केकी छन् । ३ दिनअघि अचानक तेस्रो पटक हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मूख हुँदै गएपछि उनी बुधबार दिउँसो सिमरा फर्केकी हुन् ।
पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना र प्रभुशमशेरकी पत्नी राजी शमशेर राणाका साथ काठमाडौं आएकी उनी ४ बजे बुद्ध एयरको जहाजबाट सिमरा गएकी हुन् । कोमलको कारगेट बुधबार बिहानै सिमरा हिँडेको थियो ।
अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएका दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहेकी पारसपत्नी हिमानी भने नेपाल नआएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।