युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ ।
बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको हो । आज (शुक्रबार) र भोलि (शनिबार) पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्ण रुपमा नखुल्ने र अन्यत्रको मौसम पनि दिनभरजसो प्रभावित रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बताएका छन् ।
अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने जानकारी उनले दिएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।