newskoseli.Com

नेपाली मूलका वीरबहादुर बने बंगलादेशमा मन्त्री

बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि जनवरी १५ मा ढाकास्थित गणभवन पुगे ।

भेटमा उनले नेपाली मूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन्– ‘चिन्ता मान्नु पर्दैन, नेपाली मूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’

प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले फोनमा भने– ‘बंगलादेशमा नेपाली मूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो तर नेपाली मूलका मन्त्री नै छन् भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’

नेपाली मूलका वीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री छन् । गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्रिमण्डल गठन भएको थियो । वीरबहादुरलाई चितागोङ (चटगाव) हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको छ ।

बंगलादेशको उत्तरपूर्वी सीमामा खाग्रासरी, रांगामाटी र वान्दरवन जिल्ला छन् । यी तीनै जिल्लाको साँधसीमा भारत र म्यानमार (बर्मा) सँग जोडिन्छ । हालै सम्पन्न ११औं संसदीय निर्वाचनमा वान्दरवन क्षेत्रबाट विजयी बनेपछि वीरबहादुर छैटौं पटक सांसद बनेसँगै पहिलो पटक क्याबिनेट मन्त्री समेत बने । उनले यही क्षेत्रबाट सन् १९९१ मा पहिलो पटक सांसद जितेका थिए । त्यसपछि वीरबहादुर सन् १९९८ मा सहायक मन्त्री र २००८ मा राज्यमन्त्री बनिसकेको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर