काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को अन्तिम प्रतिवेदनको मस्यौदा नेपाली सेनाले प्राप्त गरेको छ । द्रुतमार्गको डीपीआर दक्षिण कोरियाको सोसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो ।
सेनाले अध्ययन गरेपछि डीपीआरलाई अन्तिम रुप दिइने बताइएको छ । कोरियन कम्पनीले उपलब्ध गराएको डीपीआर अध्ययनमा दुई साता जति लाग्ने सेनाका अधिकारीहरुले जनाएका छन् ।
कोरियन कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा द्रुतमार्गको डीपीआर तयार पारेको हो । यसअघि द्रुतमार्गको डीपीआर तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले डीपीआरको मूल्य ६१ करोड रुपैयाँ तोकेको थियो ।
अत्यधिक महँगो मूल्य तोकिएका कारण सेनाले पुरानो डीपीआर खरिद गर्नुको साटो नयाँ बनाउने निर्णय गरेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।