newskoseli.Com

कहाँ गए यी बालबालिका ? १ वर्षमा २ हजार ३ सयभन्दा बढी बेपत्ता !

मुलुकभरबाट १ वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । चालू आ.व. मा उपत्यकालगायत सातै प्रदेशमा २ हजार ३ सय ३० बालबालिका हराएको सूचना संकलन भएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताए ।

हराइरहेकामध्ये बालिका धेरै रहेको केन्द्रको तथ्यांकले देखाएको छ । तथ्यांकमा १ हजार ४ सय ९ जना बालिका मात्रै हराएको देखिएको छ, जसमध्ये १५ देखि १८ वर्ष उमेर समूहका बालिकाहरु बढी हराएको तथ्यांकले देखाएको छ ।

५ वर्षसम्मका १३ जना, ६ देखि १० वर्षसम्मका ३३ जना, ११ देखि १४ वर्षसम्मका ४ सय ५ जना र १५ देखि १८ वर्ष उमेर सम्मका ९ सय ५८ गरी १ हजार ४ सय ९ जना बालिका मुलुकबाट बेपत्ता भएका छन् ।

त्यसैगरी, ५ वर्षसम्मका ३३ जना, ६ देखि १० वर्षसम्मका १ सय १३ जना, ११ देखि १४ वर्षसम्मका ५ सय २ जना र १५ देखि १८ वर्ष उमेरसम्मका २ सय ८४ गरी ९ सय २१ जना बालक हराइरहेको बताइएको छ ।

धेरै बालबालिका हराउने प्रदेशमा पहिलो स्थानमा प्रदेश नम्बर ३ परेको छ । तथ्यांक अनुसार प्रदेश– ३ बाट मात्रै ७ सय २ जना बालबालिका हराएका छन । ३ सय ८५ जना बालिका यस प्रदेशबाट बेपत्ता भएका छन् भने ३ सय १७ बालक हराएको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै, धेरै बालबालिका हराइरहेको प्रदेशमध्ये दोस्रो स्थानमा प्रदेश नम्बर ५ परेको छ । प्रदेश– ५ मा ३ सय ४१ जना बालबालिका हराइरहेका छन्, जसमा बालिका २ सय १२ र बालकको संख्या १ सय २९ रहेको छ । केन्द्रले दिएको जानकारी अनुसार चालू आ.व. को हालसम्म ७ सय २० जना मात्रै बालबालिका फेला परेको र बाँकीको खोजी भइरहेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर