newskoseli.Com

पर्यटन विकासको ६३ लाखबाट मासु–भात र रक्सीको मस्ती

धरान उपमहानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकमको बजेट ‘जनप्रतिनिधि’ र कर्मचारीले मदिरा सेवन र मासु–भातमा ‘स्वाहा’ बनाएका छन् ।

धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनुपर्ने बजेट ‘जनप्रतिनिधि’ र कर्मचारीको मिलेमतोमा यसरी दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार ३ सय ७० रुपैयाँ मदिरा र मासु–भात शीर्षकमै ‘स्वाहा’ पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवर्द्धनको कुनै पनि काम भने गरेको छैन ।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटनसम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफूखुसी दुरुपयोग गरी नीतिगत भष्ट्राचार गरेको प्रमाण प्राप्त भएको छ । पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार ३ सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए । तर, उपमहानगरपालिकामा ‘जनप्रतिनिधि’ आएपछि पर्यटन विकास उपशाखासँग विभिन्न स्थानीय संघ–संस्थाले ३ लाख ५ हजार रुपैयाँको मात्र कार्यक्रम सम्झौता गरेको पाइएको छ । पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि १ करोड रुपैयाँ छुट्याएको थियो । छुट्याइएकोमध्ये ६६ लाख ३० हजार ३ सय ७० रुपैयाँ खर्च भइसकेको छ ।

तर, पर्यटन शीर्षकमा अहिलेसम्म ३ लाख ५ हजार रुपैयाँको मात्रै विभिन्न संघ–संस्थासँग सम्झौता गरिएको हो । ‘जनप्रतिनिधि’ र कर्मचारीको मिलेमतोमा अन्य रकम आफूखुसी पार्टी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट ‘स्वाहा’ बनाइएको स्रोतले बतायो । पर्यटन विकासमा छुट्याइएको बजेटबाट धरानको इजी राइडर्स होटलमा ६ लाखभन्दा बढीको मदिरा पार्टी गरिएको छ । उक्त पार्टीमा सहभागीलाई वार्स्टनर बियर, रुस्लान भोड्का र मासु–भात खुवाइएको थियो ।

धरान उपमहानगरले इलाम नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्न जाँदा १० लाखभन्दा बढी रकम मदिरा सेवन र मासु–भातमा खर्च गरेको छ । धरानमा आयोजना गरिएको चिया महोत्सवमा आएका पाहुनालाई धरान स्विमिङ पुलमा आयोजना गरिएको मदिरा पार्टीको २ लाख २१ हजार रुपैयाँ धरान किचन होटललाई पर्यटन विकास बजेटबाटै भुक्तानी गरिएको छ । स्विमिङ पुलमा आयोजना गरिएको पार्टीमा वर्ल्ड दरबार र मासु–भात खुवाइएको समाचार रत्नप्रसाद आचार्यको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर