‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ कचनकवल– ६, झापाकी गुलेरुन बेगम सम्झिन्छिन्– ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’
त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो तर अब त छोराहरूभन्दा छोरीहरू बढी पढ्न थालिसकेका छन्’– उनी भन्छिन् । गुलेरुनकी छोरीले १२ कक्षा पास गरिसकिन् । अब भने उनी छोरीको पढाइ यहीं रोकिदिन चाहन्छिन् किनभने उनलाई छोरीको बिहे नहुने चिन्ता छ ।
‘मेरी छोरीले धेरै पढेकैले २१ वर्ष पुग्दा पनि बिहे हुन सकिरहेको छैन,’ उनले भनिन्– ‘१२ सम्म पढाउँदा त यस्तो छ, अझ बढी पढाउने हो भने त के होला !’ कचनकवलका झन्डै ७ सय मुस्लिम परिवारको कथा यस्तै छ । यो समुदायमा छोराभन्दा छोरीले बढी पढेका छन् । स्कुल जानेमा पनि छोरीकै संख्या ज्यादा छ । तर, यो आँकडाले समाजको वास्तविक चित्र देखाउँदैन किनभने मुस्लिम महिलाले शिक्षा आर्जन गरे पनि त्यसको उपयोग गर्न पाउँदैनन् । घरबाहिर निस्केर काम गर्न सक्दैनन् ।
छोराहरू ५–६ कक्षामै स्कुल छाडेर विदेश वा व्यवसायमा लाग्छन् । गाउँमा पढेका केटा छैनन् । छोरीलाई बढी पढाए उनीहरूको स्तर सुहाउँदो जोडी नै भेटिँदैन त्यसैले पढेका छोरीको विवाह कठिन हुन पुग्ने खबर राधा खनालको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।