मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डीएल १० सीएफ ६९२१ नम्बरको इको स्पोर्टस् गाडी नेपाल भित्रियो ।
भन्सार र प्रहरी दुवैतिरका कर्मचारीले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् । त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए । ती व्यापारीको उजुरीमा लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल गएको र उनी आफ्नो कर्मचारी भएको उल्लेख छ ।
त्यसपछि प्रहरीले लक्ष्मण तिवारीसहित सो गाडीको खोजतलासी गर्न थाल्यो । पुस ८ मा प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पार्यो र कानुनी प्रक्रिया पुरयाएर उजुरीकर्ता भारतीय व्यापारीलाई जिम्मा लगायो । तर, त्यस गाडीमा सुन थियो भन्ने पुसको दोस्रो साता मात्रै प्रहरीले थाहा पायो ।
त्यसै सेरोफेरोमा प्रहरी हवलदार सुरज तिरुवाले आफ्ना दाजु लक्ष्मण हराएको भन्दै काठमाडौंको लैनचौरस्थित प्रहरी बृत्तमा उजुरी दिए । त्यसपछि प्रहरी प्रधान कार्यालय अपराध विभाग र महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई लक्ष्मण खोज्न निर्देशन दिए । ब्युरोले अनुसन्धान थाले लगत्तै उनको मोबाइल म्यासेज हेर्न थाल्यो, जसमा सुन सुरक्षित रहेको जस्ता कुरा पाइएपछि अनुसन्धान लक्ष्मणभन्दा पनि सुन खोज्नतर्फ केन्द्रित भएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।