newskoseli.Com

७१ वर्षमा नयाँ ‘घरबार’ : आमै भन्छिन्– ‘दुवैका दुःख उस्तै, मन मिल्यो घरबार जोडियो’

उमेर ७२ वर्ष । तर, मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी ।

बिहानदेखि साँझसम्म चोयाचित्राको काम तर कतै देखिँदैन थकानको महसुस । सात दशक पार गरेको संघर्षको पेटारो सितिमिति खोल्न मन लाग्दैन उनलाई । उल्टै प्रश्न गर्छिन्– ‘ए, बरै ! पुराना दुःख सम्झेर के हुन्छ र ? आज रमाइलै गरी बितेको छ, यति भए त पुग्यो ।’

हरेक व्यक्तिका आ–आफ्नै कथा हुन्छन् । तर, सबैका कथा मन छुने हुँदैनन् । दाङको घोराही उपमहानगरपालिका– १० लमडरुवा, डाबरस्थित ऐलानी वस्तीको सानो झुपडीमा बस्ने एक वृद्धा आमाको संघर्ष र उद्यमशीलताको कथा निकै मार्मिक छ ।

सानै उमेरदेखि बाँसका सुपा बुन्न सिकेकी ७२ वर्षीया भुमकला घर्तीको यही सिप नै बुढेसकालको सहारा बनेको छ । अहिले पनि उनी दैनिक तीन वटा जति सुपा बुन्छिन्, आफू र श्रीमानको जोहो यसैबाट चलेको छ । ‘यति त होइन, श्रीमानको सानो पसल पनि छ’– आफ्नै सिप र श्रमको त्यति बढाइचढाइ गरेको पनि मन पर्दैन उनलाई ।

साविक सैघाको खानीगाउँमा जन्मेकी भुमकलाको सानैमा गाउँमै विवाह भयो । एक छोरा र चार छोरी जन्मे । छोरीहरु सबैको विवाह भयो । छोराले पनि बिहे गरे । श्रीमान् रहँदासम्म राम्रै थियो उनको परिवार । तर, श्रीमान् बितेपछि छोरा–बुहारीबाट सम्मान पाउन सकिनन् । ‘बुढा त बितिगए, छोरा–बुहारीले राम्रै व्यवहार गर्लान् भनेर बाह्र वर्षसम्म बसें,’ उनी विगत सम्झन्छिन्– ‘तर, पछि–पछि त छोरा–बुहारी नै लागेर मलाई पिट्न थालेपछि बसिनसक्नुभयो र नयाँ घरबारको सोच बनाएँ ।’

नभन्दै श्रीमती बितेका साविक सैघाकै एक वृद्ध भेटिन् उनले । ‘उहाँको पनि श्रीमती बितेको दुई वर्ष भएको रहेछ, म पनि बाह्र वर्षदेखि छोरा–छोरीको पिटाइ खाँदा–खाँदा दिक्क भइसकेकी थिएँ,’ ७१ वर्षको उमेरमा नयाँ घरबार बसाउनुको कारण खोल्दै उनले भनिन्– ‘दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा नयाँ घरबार जोडियो ।’

दुःखकै कारण दोस्रो विवाह गरे पनि त्यसपछि भने सुखका दिन सुरु भएको भुमकलाको अनुभव छ । पढ्ने–लेख्ने र अक्षर चिन्ने त परकै कुरा, श्रीमानकी नाम समेत थाहा छैन उनलाई । तर, गहिरो दर्शन भेटिन्छ उनको जीवन–भोगाइभित्र । ‘काम गरेर खानुलाई त दुःख भनिँदैन नि,’ हाँसोको खित्का छाड्दै, जीवनको सार मिसाउँदै उनी थप्छिन्– ‘बूढाबूढी हाँसेका छौं, मन लागेको कुरा खाएका छौं, रमाएको छौं, यही होला सुख भनेको ।’

एउटा अनौठो जीवनकहानीको यो खबर नरेन्द्र केसीको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर