भूमध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज (आइतबार) मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि (सोमबार) देखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ ।
सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् । ‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार बिहानदेखि भित्रँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’– शनिबार साँझ उनले भने ।
सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र यो प्रभाव क्रमशः अन्यत्र फैलने अर्यालले बताए । मेघ गर्जनसहित मध्यम र हल्का वर्षा दोहोरिने बताउँदै महाशाखाले बुलेटिन नै जारी गरेको छ ।
मंगलबार भित्रिएको भूमध्यसागरको वायुको प्रभावले शनिबार अबेरसम्म मौसम प्रत्यक्ष प्रभावित भयो । शनिबार अबेरसम्म देशभरि नै हिउँदे झरीको प्रभाव परेको महाशाखाले जनाएको छ । शनिबार साँझ सार्वजनिक मौसमी विवरणअनुसार पोखरामा १९, डडेलधुरामा १० दशमलव ९, ताप्लेजुङमा ७ दशमलव ४ र जुम्लामा ५ दशमलव ७ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी, काठमाडौं उपत्यकामा ४ दशमलव १ मिलिमिटर र अन्यत्र पनि मध्यम र हल्का वर्षा भएको महाशाखाले जनाएको छ । केही दिनअघि देशभर पानी पर्दा ठाउँ–ठाउँमा हिमपात भएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।