देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र इमर्जेन्सीका बिरामीलाई एकै ठाउँमा राख्ने गरिएको छ ।
इमर्जेन्सीका बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै अस्पतालले शव राख्ने गरेको छ । भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिएको छ । कुरुवा नभएका बिरामीलाई ढोका नजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामीका आफन्त इमर्जेन्सी, एक्स–रे ल्याब तथा ब्लडबैंक जाने गर्छन् । बाटामा शव देख्दा केटाकेटी र बिरामी तर्सने गरेको चिकित्सकहरु बताउँछन् ।
यो अवस्थाले बिरामीमाा मानसिक र शारीरिक समस्या आउन सक्ने उनीहरु बताउँछन् । बिरामी र शव एकै ठाउँमा राख्नु बाध्यता भएको अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले बताएको खबर अर्जुन अधिकारीको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।