केपी ओली नेतृत्वको वर्तमान सरकारको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा अोली बयलगाडा चढेर सगरमाथा चढ्न लागेको’ टिप्पणी गरेको छ ।
आर्थिक समृद्धि, शान्ति–सुरक्षा र सुशासनको दिशामा सरकार असफल रहेको कांग्रेसको दाबी छ । सरकारका कामबारे प्रतिपक्षको धारणा सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता विश्वप्रकास शर्माले सर्वसाधरणले दुईतिहाइको सरकार देखे पनि प्रतिफल देख्न नपाएको निष्कर्ष सुनाए ।
‘बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, भरपर्दो शान्ति–सुरक्षा कायम भई लगानीकर्ता ढुक्कले आउने पूर्वानुमान र आमअपेक्षा यो वर्ष दिनमा खण्डित भएको छ’– उनले भने । कांग्रेसले आर्थिक सूचाकंका विवरण समेत प्रस्तुत गरेको थियो ।
‘व्यवस्थित अर्थतन्त्रको महत्त्वपूर्ण मानक राजस्वको आकार बढ्ने र पुँजीगत खर्च समयमै प्रभावकारी रुपले हुने कुरामा आर्थिक विकास निर्भर हुन्छ,’ कांग्रेसले भनेको छ– ‘तर बलियो सरकार भनिए पनि पुँजीगत खर्च माघ मध्यसम्ममा आइपुग्दा केबल २२.८७ प्रतिशत मात्रै छ ।’
प्रतिपक्षीले गरेको सरकारको मूल्यांकनसम्बन्धी यो खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।