सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने तयारी ुरु भएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने ‘भद्र’ सहमति भएको छ । सरकार गठन गर्नुपूर्व नै भएको एक वर्षको अवधिमा मन्त्रीहरु हेरफेर गर्ने सहमतिबमोजिम पार्टीको तर्फबाट सरकारमा सहभागी केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने गृहकार्य अगाडि बढेको छ ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरे पनि नागरिकस्तरबाट आलोचना सुरु भएको छ । आइतबार प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।