newskoseli.Com

कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त यी मन्त्रीहरु !

नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उदघाटन, सभा र समारोहमै बित्ने गरेको छ ।

उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ मा बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरिसकेको छ । तर, एक वर्षमा सरकारले नागरिकका न्यूनतम आवश्यकताहरु पूरा गर्न नसकेको भन्दै आलोचना भइरहेका छन् ।

यस्तै बेला मन्त्रीहरु हेलिकप्टर चार्टर गरेर विद्यालय भवन र स्वास्थ्य चौकी उदघाटनमै रमाउँदै आएका छन् । अधिकांश मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिँदैनन् । मन्त्रीहरु बिहानदेखि बेलुकासम्म नै महोत्सवको उदघाटन, सभा–समारोहमा बढी समय बिताउँछन् ।

२ जना मन्त्री र तीन जना राज्यमन्त्री गरी यो सरकार २५ सदस्यीय छ । स्थानीय र प्रदेश सरकार गठन भएर सञ्चालनमा आइसकेको अवस्था छ तर तर बिडम्बना ! स्थानीय र प्रादेशिक तहका कार्यक्रममा समेत संघीय सरकारका मन्त्रीहरु नै दैनिकजसो हेलिकप्टर चार्टर गरेर पुग्ने गरेका छन् ।

उनीहरु उदघाटन लगायतका स–सना कार्यक्रममा जाँदा मन्त्रालयको काम प्रभावित हुनुका साथै राज्यलाई समेत करोडौं व्ययभार पर्दैै आएको छ । संघीय सरकारका एक जना मन्त्री दैनिक तीनदेखि पाँच वटासम्म कार्यक्रममा सहभागी हुँदै आएका देखिन्छ ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलगायतले दैनिक तीनदेखि पाँच वटासम्म कार्यक्रममा सहभागी हुँदै आएको र उनीहरु कामभन्दा प्रधानमन्त्री रिझाउन बढी व्यस्त हुने गरेको खबर मधुसूदन रायमाझीको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर