अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा नेम्बाङले सो भिडियो अख्तियारको टोलीलाई दिएका हुन् ।
‘पाठकलाई महाअभियोग लगाउन राखिएको भिडियो अख्तियारका अनुसन्धान अधिकृतलाई हस्तान्तरण गरें’– नेम्बाङले संवाददाहरुसँग भने । आफ्नो चश्मा राख्ने बट्टाबाट भिडियो भएको पेनड्राइभ निकालेर नेम्बाङले अनुसन्धान अधिकृतलाई बुझाएका थिए ।
सार्वजनिक संस्थाका रुपमा दर्ता भएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिरियरिङ कलेजलाई सञ्चालक लम्बोदर न्यौपाने समूहको निजी स्वामित्वको बनाउने गरी मुद्दा मिलाउन पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए । घुससम्बन्धी भिडियो सार्जजनिक भएपछि पाठकले राजीनामा दिएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।