newskoseli.Com

विषाक्त रक्सी सेवनबाट सयभन्दा बढीको मृत्यु, दुईसय बिरामी

भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

बिरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चार माध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झन्डै एक सय जनाको मृत्यु भएको थियो । आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरू विषाक्त मदिरा सेवन गर्न पुगेका थिए ।

गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाका अनुसार त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको जनाइएको छ । गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले बताए ।

अर्को स्रोतका अनुसार जोरहाट जिल्लामा १२ जनाको मृत्यु भएको छ । गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए ।

गोलाघाट अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिका अनुसार उनी बिहीबार चिया बगानमा थिए । अधिकारीहरूका अनुसार सो घटनाको छानिबिन गर्न एउटा समिति बनाइएको छ । राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेका छन् । त्यस्तो मदिरा बिक्री–वितरण रोक्न नसकेको भन्दै दुई जना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर