नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रदेश– ५ का सबै नगर र गाउँपालिकालाई पत्र पठाउँदै विकास बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको समाचार छ ।
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउन पार्टीले ‘जनसत्ता’ निर्माण गरी जनतामाझ सञ्चालन गरेको उल्लेख गर्दै सोही सत्तामा ‘कर’ बुझाउन भन्दै पत्राचार गरेको हो ।
पत्रबाहेक मौखिक रूपमा धम्कीपूर्ण भाषाको प्रयोग गर्दै रकम छिटो उपलब्ध गराउन दबाब दिने गरिएको छ । पत्रअनुसार धेरै स्थानीय तहका जनप्रतिनिधिले ’बार्गेनिङ’ गरेर रकम बुझाएका छन् ।
केहीले विकास बजेटबाटै र कतिपयले व्यक्तिगत रूपमा रकम दिइसकेको जनाएका छन् । चन्दाको दबावमा वडाध्यक्ष समेत परेका छन् । यहाँका धेरै गाउँपालिकाका वडाध्यक्षले आम्दानीको स्रोत अनुसार ५ हजारदेखि १० हजार रुपैयाँसम्म उपलब्ध गराएका छन् ।
त्यस्तै, गाउँपालिकाका अध्यक्षले ५० हजार रुपैयाँसम्म उपलब्ध गराएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।