दुलाहा र दुलही गरी गाउँलेहरु दुईतिर बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुला–बेहुली सिँगार्दै । धार्चे गाउँपालिका– ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो ।
दुलहाको घर ठूलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो, मकैको । बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइत जुराएका थिए । कटुवालले गाउँभरि खबर फिँजाएका थिए । तीन दिन अघिदेखि नै विवाहको प्रक्रिया सुरु भएको थियो । आइतबार लाप्राककै मनिडाँडामा काङछोय (डाँडामा गरिने पूजा) भयो । सोमबार बेलुकी दुई घोगा मकै ज्यातिषले जमिनमा गाडे । ‘हिजो (सोमबार) ‘वरणी’ गरियो ।
‘त्यसपछि जाँतो चलाउनु, मादल बजाउनु, मकै भुट्नु, होहल्ला गर्नु र खनजोत गर्नु नहुने मान्यता छ, त्यसकारण कसैले त्यसो गरेनन्,’ स्थानीय वीसबहादुर गुरुङले भने– ‘आज (मंगलबार) साइत हेरी हिजो गाडेको मकै झिकेपछि बिहे सुरु भएको हो ।’
नेपाली समाजमा रहेको एउटा अनौठो प्रचलनबारेको यो खबर हरिराम उप्रेतीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।