छिमेकी मुलुक नेपालमा चिनियाँ लगानीबारे अमेरिकाले ‘पारदर्शिता’ र ‘हित–अहित’ को प्रश्न उठाएपछि चीनले असन्तुष्टि जनाएको छ ।
चिनियाँ राजदूत होउ यान्छीले कोसौं टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् ।
हिमाल र नदीनालाले जोडिएको नेपाल–चीन वर्षौंदेखिका दुःख–सुखका छिमेकी भएको चिनिया राजदूतको भनाइ छ । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा ‘चिनिया लगानी नेपालको हितमा हुनुपर्ने’ भन्दै ‘उपदेश’ दिएका थिए । यो ‘पारदर्शी’ पनि रहनुपर्ने समेत उनको धारणा थियो ।
राजदूत होउले भने अर्काको लगानीबारे टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नता अभियानमा सघाउनुपर्ने भन्दै अमेरिकी उपसहायक रक्षामन्त्रीलाई चुनौती दिएको खबर निर्दोष घोरसाइनेको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।