‘विवादित’ व्यवसायी अजेयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम ‘फिर्ता गर्न’ सर्वोच्च अदालतले आदेश दिए पनि त्यसो गर्न ‘तत्काल सम्भव नहुने’ भएको छ ।
‘सुमार्गीको पैसा फर्काउन सक्ने अवस्था नभएको’ कुरा नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले बताएका छन् । इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो ७५ लाख अमेरिकी डलर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले अन्य बैंकमा स्थानान्तरण गराएका थिए । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश दिँदै उक्त रकम झिक्ने अनुमति दिएको थियो ।
सुमार्गी स्वामित्वको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम ‘शंकास्पद देखिएको’ जनाउँदै झिकेको रकम ‘फिर्ता गर्न’ पछिल्लो पटक सर्वोच्चले आदेश दिएको थियो । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि राष्ट्र बैंकले सुमार्गीको पैसा ‘फिर्ता गराउन’ बैंकहरुलाई निर्देशन दिएको थियो । तर, उक्त निर्देशन कार्यान्वयन गर्न सम्भव नदेखिएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।