खराब मौसम हुँदाहुँदै दबावपूर्ण जोखिम मोलेर क्याप्टेन प्रभाकर केसीले उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् ।
‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमी–कमजोरीबाट दुर्घटना हुन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने– ‘दुर्घटना हुनुअघि मौसम खराब थियो भन्ने त थाहा भएकै विषय भयो, त्यसमा पनि पर्यटनमन्त्री, हेलिकप्टर मालिक, उड्डयन प्राधिकरणका पदाधिकारी समेत रहेको उडानमा जोखिम हुँदाहुँदै पनि पाइलटले भन्न नसकेका हुन सक्छन्, मन्त्री र हेलिकप्टर मालिक हुँदाहुँदै जोखिम लिएर उडेको हुन सक्छ ।’
मन्त्री, नियामक निकायका हाकिम र एयरलाइन्सका मालिक नै सवार भएकाले सानोतिनो जोखिम टार्न सकिन्छ भनेर लिएको जोखिमले ठूलो दुर्घटना भएको अनुमान मानन्धरको छ । दुर्घटनामा परेको हेलिकप्टर १२ हजार ४ सय ४८ फिट उचाइमा ७ जना यात्रु बोकेर उडेको थियो ।
मानन्धरका अनुसार जाँदा तौल बढी भए पनि फर्किंदा तेल खपत भइसकेकाले तौलका कारण जोखिम कम भएको हुनुपर्छ । तर, त्यो अल्टिच्युडमा यात्रु बोक्दाका नियम केलाउने हो भने १० हजार फिटमाथि उड्दा अक्सिजन लगाउनुपर्ने नियम पनि पालना भयो कि भएन भनेर समेत हेर्नुपर्ने मानन्धर बताउँछन् । जहाज दुर्घटना जाँच आयोगले दिने हरेक प्रतिवेदनको सुझाव कार्यान्वयनको पाटो पनि अर्को महत्त्ववपूर्ण पक्ष रहेको उनको भनाइ छ ।
यस दुर्घटनालाई इतिहासभन्दा फरक रूपमा हेर्नुपर्ने बताउँछन् प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली । उनले भने– ‘साधारण मान्छेले बुझ्ने त मौसम हो तर विस्तृत विवरण अनुसन्धानबाटै आउँछ ।’ कसैले दबाब दिँदैमा ज्यानै जाने गरी पाइलटले जोखिम लियो भनेर भन्न नसकिने उनले बताए ।
दलीले भने– ‘एउटै कारणले दुर्घटना हुने होइन, यसअघिका केही दुर्घटनाका प्रतिवेदन कार्यान्वयन भए वा भएनन्, त्यो हेर्नुपर्छ ।’ कमजोरीलाई सुधार गर्दै जानु पर्नेमा त्यस्तो नभएको उनले बताए । ‘नेपालको हवाई उड्डयनको इतिहासमा भएको यो खालको दुर्घटनाको विस्तृत अध्ययन हुनुपर्छ, अहिले नै कसैलाई दोष लगाउनु उपयुक्त हुँदैन’– दलीले भनेको खबर राजु बास्कोटाको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।