भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवत–जावत गर्ने विमानको उडान प्रभावित भएको छ ।
नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतिहाज एअरको उडान प्रभावित भएको हो । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ । सोही कारण पाकिस्तान हुँदै भारत भएर नेपाल आवत–जावत गर्ने नेपाली विमानहरुको उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार कतार एअरवेजले वैकल्पिक रुटको प्रयोग गरेर उडान गरेको छ । तर, टर्किस र इतिहाज एअरको उडान भने रद्द गरिएको छ । कतार एयरवेजको विमान भने पाकिस्तानको आकाश छलेर वैकल्पिक रुटबाट उडेको छ । तिवारीका अनुसार बिहान ११ः३० मा उड्नुपर्ने विमान पाकिस्तानले रोक लगाएपछि वैकल्पिक रुटको प्रबन्ध मिलाउँदा दिउँसो मात्रै उडेको थियो ।
त्यसैगरी, टर्किस एयरलाइन्सको जहाज उडेको छैन । बुधबार दिउँसो १२ बजे उड्नुपर्ने जहाज पाकिस्तानले रोक लगाएसँगै विमानस्थलमै थन्किएको छ । इतिहाद एअरवेजले पनि उडान रद्द गरेको छ । यूएर्इको यो एअरवेजले नेपाल आउने उडान रद्द गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार पाकिस्तानको आकाश भएर भारत हुँदै नेपाल आवत–जावत गर्ने जहाजलाई वैकल्पिक रुटबाट आवत–जावत गर्ने व्यवस्था मिलाउन लागिएको खबर खिलक बुढाथोकीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।