बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘एन्टिमार्टम’ गरिएको छ ।
सातै जनाको शव बिहीबारै उक्त अस्पतालमा ल्याइसकिएको छ । अन्यभन्दा यो फरक घटना भएकाले ‘एन्टिमार्टम’ गर्न लागिएको हो । ‘एन्टिमार्टम’ प्रक्रिया पोस्टमार्टमभन्दा फरक भएकाले एन्टिमार्टममा डाटा संकलन भैरहेको अस्पतालका फरेन्सिक विभागका प्रमुख फरेन्सिक विशेषज्ञ प्रा.डा. हरिहर वस्तीले जानकारी दिए ।
उनका अनुसार मृतकका शवहरु पूर्णरुपमा नचिनिने अवस्थामा जलिसकेकाले सबै मृतकका परिवार र शवको डाटा लिएपछि परीक्षण हुनेछ । यो दुर्घटना सडक या अन्य घटनाभन्दा निकै फरक भएको र यसमा पोस्टमार्टम लागू नहुने भएकाले एन्टिमार्टममा समय लाग्ने बताउँदै डा. वस्तीले भने– ‘जटिल खालको अवस्थामा सबै शवको प्रकृति पहिचान नहुने र पूरै डढेको अवस्थामा भएकाले शव पहिचान गर्नकै लागि डाटा लिनुपर्ने हुन्छ ।’
अस्पतालका अनुसार डाटा संकलन तीव्र रुपमा भएकाले शुक्रबारसम्ममा परीक्षण प्रक्रिया पूरा हुन सक्ने खबर भगवती तिमल्सिनाको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।