यातायात व्यवसायीले जाजरकोट–डोल्पा सडक खण्डमा यात्रुसँग मनपरी भाडा असुल्ने गरेका छन् । १ सय १६ किलोमिटर सडकमा २ हजार ३ सय ५० रुपैयाँ भाडा लिने गरेका छन् ।
यति भाडा असुले पनि यात्रुलाई भने कम्ता सास्ती छैन । ठाउँ–ठाउँमा ओर्लेर हिँड्नुपर्छ ।
यो सडक खण्डमा ट्र्याक खुलेसँगै गाडी चल्न थालेपछि यात्रु झन् मारमा परेका हुन् । जाजरकोटदेखि डोल्पा पुग्न सिधै गाडी चल्दैन्, विभिन्न खण्ड–खण्डमा यात्रा गर्नुपर्छ । जाजरकोट सदरमुकामदेखि तल्लुसम्म ७ सय रूपैयाँ भाडा लाग्छ । त्यसपछि फेरि ७ सय रुपैयाँमै रुकुमको अनाहदेखि डोल्पाको करबगाडसम्म पुगिन्छ । करबगाडदेखि खदाङसम्म पुग्न फेरि १ सय ५० रुपैयाँ तिर्नुपर्छ । त्यहाँबाट त्रिपुराकोटसम्म पुग्न अर्को गाडी चढ्नुपर्छ । खदाङदेखि त्रिपुराकोटसम्म ४ सय रूपैयाँ भाडा लाग्छ । त्यसपछि सुपानीदेखि दुनै पुग्न अर्को ४ सय रुपैयाँ भाडा तिर्नुपर्छ ।
‘भाडा चर्को छ, यात्रु ठगिएका छन् तर स्थानीय सरकार केही बोल्दैन’– जाजरकोटको नलगाडका बद्री पन्तले भने । यसरी चर्को भाडा लिँदा यात्रुलाई टिकट भने दिने गरिएको छैन । स्थानीय प्रशासनसँग उजुरी गर्ने डरले टिकट नदिने गरिएको यात्रुको भनाइ रहेको खबर हेमन्त केसीको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।